एसपी रिपोर्टर

जनकपुरधाम, पुष १२ : मधेशमा राजनीतिक तरंगका बीच आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले केही बोल्न चाहेनन् । हिजो पारिवारिक केहि सदस्य सहित जनकपुरधाम आइपुगेका पूर्व राजादम्पती आज बेलुकी तीन बजे जानकी मन्दिर दर्शनका लागि पुग्दा समर्थकहरूको भिड लागेको थियो ।

मन्दिर प्राङ्गणमा ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘राजा हाम्रो साँझा’ सहितको नारा समर्थकहरूले लगाएका थिए । जानकी मन्दिरमा दर्शन पश्चात पत्रकारहरूको जिज्ञासामा पूर्व राजा शाहले आफ्नो धार्मिक यात्रा रहेकाले बोल्नुपर्ने केही नरहेको बताए ।

जानकी मन्दिरबाट पैदल करिब दुई सय मिटरको दूरीमा रहेको राम मन्दिर र राजदेवी मन्दिरसमेत पुगेका पूर्वराजाको आगमनमा स्वागतका लागि बिहानैदेखि समर्थकहरू तयारीमा जुटेका थिए । पुर्व राजा शाहको टिमलाई जानकी मन्दिरमा महन्थ र साधुसन्ध तथा राम मन्दिरमा युवा कमिटिका युवाहरुले स्वागत गरेका थिए ।