एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेस सभापति गगन कुमार थापाको भव्य स्वागत र आमसभाको तयारी सुरु भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको आज बसेको बैठकमा नवनियुक्त सभापति गगन कुमार थापालाई स्वागत र कार्यकालको सफलताका लागि शुभकामना दिने निर्णय गरेको छ भने भव्य आमसभा गरी चुनावी अभियानको थालनी गरिने छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बैठक बसेको थियो । सभापति थापाको जनकपुरधाम आगमन र तिरहुतिया गाछीमा भव्य आमसभा आयोजना गर्ने निर्णय भएको बताइएको छ ।
कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरिनेछ । प्रमुख जिल्ला सभापति योगेन्द्र पजियारलाई व्यवस्थापन समितिको जिम्मेवारी दिइएको छ । त्यस्तै, अतिथि सत्कार, पार्किङ व्यवस्थापन, नयाँ उम्मेदवार परिचालन, र प्रचार-प्रसार मिडिया डेस्क उपसमितिहरू गठन गरिनेछन् ।
बैठकले मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रबाट २४० नेताकार्यकर्ता र आम जनतालाई सहभागी गराउने निर्णय पनि गरेको कुरा प्रचार प्रसार समिति मधेश प्रदेशले जनाएको छ । प्रदेश समितिको बैठक लगत्तै अहिले संसदिय दलको बैठक बसिरहेको छ ।





