एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ३ : मधेशमा मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ती र सपथ ग्रहण विरुद्व आन्दोलित रहेको एमाले बाहेकका दलहरुले सभामुख रामचन्द्र मण्डल विरुद्दको अविश्वास प्रस्ताव पारित गर्दै सभामुखलाई बहिष्कार गरेको छ ।
मधेश प्रदेशसभाको आजको बैठकले सभामुख रामचन्द्र मण्डल विरुद्दको पदीय आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित गरेको छ । यस संगै मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको छ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव मधेश प्रदेशसभाबाट दुई तिहाइ बहुमतले पारित भएको हो ।

सभा सञ्चालन गरेकी उपसभामुख सहित सभामा उपस्थित ७८ मध्ये ७६ जना प्रदेशसभा सदस्य प्रस्तावको पक्षमा मतदान गरेका छन भने विपक्षमा शुन्य मत परेको छ । सो संख्या मधेश प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई भन्दा बढि रहेकाले सभामुख रामचन्द्र मण्डल स्वतः पद मुक्त भएको घोषणा आजको बैठकको अध्यक्ष उपसभामुख बबिता देवी ईशरले गरेकी छिन् ।
सभामुख, सत्तापक्ष एमाले र सरकारको अनुपस्थिति रहेको बैठकको सुरुमा एमालेबाट एकल उपस्थित रहेकी शारदा देवी थापाले सरकार र सत्तापक्षको अनुपस्थितिमा बैठक अगाडि बढन नसक्ने भन्दै नियामपती जनाएकी थिइन् । उपसभामुख ईशरले यो विसुद्व प्रदेशसभा संग सम्बन्धित विषय रहेकाले त्यसको आवश्यकता नपर्ने यद्यपि सत्ता पक्ष सभामुखलाई उपस्थितिका लागि दश मिनेटको समय दिदै बैठक स्थगित गरेकी थिइन ।

दश मिनेट पछि पुनः सुर भएको बैठकमा प्रस्ताव उपर छलफलमा भाग लिएका विभिन्न दलका सांसदहरुले सभामुख मण्डल सुरु देखिनै एमालेको कार्यकर्ताको रुपमा काम गरेको, कार्यकालकै सुरुमा कुनै एक खास बैंकमै खाता खोल्नुपर्छ भन्ने विवादमा परेको, आफनो सचिवालयमा श्रीमती, छोरीहरु, ज्वाई र छोरा सहितकालाई भर्ना गरेको आरोप लगाएका छन् ।
साथै कार्तिक २२ गते तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदा नियोजित पुर्व तयारी रुपमा संसदिय दलका नेता बाहेक रोहबर अन्सारीलाई रोष्टममा बोल्न दिएको अविश्वासको प्रस्ताव दर्ता गराउन आउँदा सांसदहरुको कालर समातेर गुण्डा भिडाई भौतिक आक्रमण र बन्धक बनाउने काममा आफै सहभागि रहेको आरोप लगाउँदै उनीहरु सभामुखको विरोध गर्दै कांग्रेसका तर्फबाट प्रमुख सचेतक कुमर कान्त झाले प्रस्तुत गरेको सो प्रस्तावको पक्षमा सर्मथन गरेका थिए ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।
बैठकमा प्रदेश सभाका पाँच जना सदस्यहरूलाई पदमुक्त गर्ने निर्णयका विरुद्धमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरिरहनु भएकी उपसभामुख बबिता राउत ईशरले पढेर सुनाउनु भएको थियो ।





