एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १८ : आफना अध्यक्ष सुरेन्द्र भण्डारी उप भएको सांघातिक आक्रमणको विरोध स्वरुप आन्दोलित जनकपुरधाममा उद्योगी व्यापारी र प्रहरी प्रशासन वीच चार बुँदे सहमति संगै आन्दोलन पनि स्थगित भएको छ ।
गत धनतेरस पूर्वसन्ध्यामा असोज ३१ गते जनकपुरधामको सोनरपट्टी स्थित एक सुनचाँदी पसलमा प्रहरीले गरेको छापा कारबाहीप्रति आपत्ति जनाउँदै पुगेका जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारी माथी प्रहरीद्वारा कुटपिट भएपछि सुरु भएको व्यवसायीहरूको आन्दोलन जनकपुरधाममा चार बुँदे सहमतिसँगै स्थगित भएको छ ।

मंगलबार साँझ जनकपुरधाम उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय धनुषाबीच भएको छलफलमा दुवै पक्ष सहमति गरेका हुन । सहमति अनुसार सुनचाँदी पसलमा छापा मार्ने घटनाको विषयमा सम्बन्धित निकायले छानबिन गर्ने र दोषी ठहरिने प्रहरीमाथि कानुनअनुसार कारबाही अघि बढाइने उल्लेख गरिएको छ । सोसँगै आन्दोलनरत व्यवसायीहरूले तत् कालदेखि सबै आन्दोलन कार्यक्रम स्थगित गर्ने सहमति पनि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत असोज ३१ गते भएको घटनामा प्रहरी र व्यवसायीबीच झडप हुँदा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित केही व्यवसायी घाइते भएका थिए ।
संघले त्यसपछि छापाको नेतृत्व गरेका डिएसपी गणेशबहादुर बम र घुमुवा सहायक निरीक्षक मनोजकुमार यादव लगायतलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयमा चार बुँदे ज्ञापनपत्र बुझाएको थियो । तर, प्रशासनले तत्काल कारबाही नगरेपछि व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । स्रोतका अनुसार घुमुवा यादवको सरुवा गरिने छ ।







