एसपी रिपोर्टर

जनकपुरधाम, फागुन ५ : नेपाली काङ्ग्रेस मधेस प्रदेश कार्यालयले भोलि जनकपुरधाममा १ लाख मान्छे उतार्ने दाबी गरेको छ । पार्टी सभापति गगन थापाको अगुवाइमा भोलि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुन लागेको मधेस प्रतिज्ञा सभा आयोजनाको सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश सभापति समेत रहेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भोलि जनकपुरधाममा १ लाख मान्छे उतार्ने दाबी गर्नुभएको छ ।

उनले पार्टीको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, मधेस प्रदेशका ३२ वटै क्षेत्रका उम्मेदवारहरू, समानुपातिक उम्मेदवारहरू देखि लिएर जिल्ला वडासम्मका कार्यकर्ताहरूसहित आम नागरिकलाई पनि आमन्त्रणा र आह्वान गरिएकाले एक लाखसम्मको उपस्थिति हुने बताउनुभयो ।

सभापति यादवले दशको पछि १६५ सबै निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार रहेको र बाँकी उम्मेदवार कतै पनि नरहेकोले एक्लै बहुमतको सरकार बनाउने दाबी समेत गर्नुभएको छ । सभापति यादवले २०४८ सालको जस्तै निर्वाचन परिणाम आउनेमा आफूहरू विश्वस्त रहेको पनि खुलासा गर्नुभएको छ । नेपाली कांग्रेसले भोलि जनकपुरधामबाटै आफ्नो चुनावी प्रतिज्ञा पत्र घोषणा पनि गर्दैछ ।