एसपी रिपोर्टर
जनकपुरधाम, असोज २६ :
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । २८ गते जनकपुरधाममा हुने प्रदेश अधिवेशनका लागि भुगोल बाट प्रतिनिधि छनौट लगभग सम्पन्न भई सकेको छ ।

अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षक सहित करिव एक हजारको सहभागिता रहने प्रदेश अध्यक्ष बाल किशोर यादवले जानकारी दिए । अधिवेशनको उदघाटन सत्रलाई असोज २७ गते पार्टी अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ ।

देश विषम राजनीतिक परिस्थितिमा रहेको समयमा पार्टीको मधेस प्रदेश अधिवेशनको औचित्य झन बढेर गएको उनले बताए । उनले जेन जी ले उठाएका मागहरु आफनो पार्टीले एक दशक पहिला देखिनै उठाउँदै आएको बताए ।

पार्टीले संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना तथा संबैधानिक अदालत, सामाजिक न्याय तथा सुशासनको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य जस्ता मुद्दा अहिले आएर जेन जी पुस्ताले उठाएको र आफूहरु एक दशकदेखि उठाउँदै आईरहेको उहाँले स्पष्ट पारेका छन् ।

यो प्रदेश अधिवेशनमा समेत यी मुद्दाहरूलाई उठाउने उनको भनाई छ । अधिवेशन बाट नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष बाल यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादव आकांक्षी रहेको बताइए पुनः बाल यादव दोहरिने चर्चा छ ।