एसपी रिपोर्टर
जनकपुरधाम, असोज २२ :
मधेशमा कांग्रेसका कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधबार कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति अनुरुप प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णा यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीको संसदीय दलका नेता महेश यादवको नेतृत्वमा पुगेको प्रदेशसभा सदस्यहरुको टोलीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार गठनका लागि दावी पेश गरेको हो ।

हालको मुख्यमन्त्री सतिश कुमार सिंहको सरकारलाई दिएको समर्थन जनमत, नेपाली कांग्रेस र नेकपा एमालेले फिर्ता लिएपछि आफूहरु सोही अनुरुप नयाँ सरकार गठनका लागि दावी पेश गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले सामाजिक सञ्जाल मार्फत राजिनामा दिई सकेको अवस्थामा राजिनामा दिन तयार नभएपछि उत्पन्न परिस्थितिलाई समाधान गर्नका लागि आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार गठनको प्रकृयामा अगाडी बढेको एमाले संसदीय दलका नेता सरोज यादवले बताउनुभयो ।

केही अवधीका लागि जनमतले सरकारको नेतृत्व गर्ने र त्यसपछि सरकारको नेतृत्वका लागि कांग्रेसलाई दिने सहमति भएपनि मुख्यमन्त्रीले सो सहमति पालन गर्न अग्रसर नदेखिएपछि आफूहरु नयाँ शिराबाट सरकार गठन तर्फ लागेको जनमत पार्टीको संसदीय दलका नेता महेश यादवले बताउनु भयो । कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि १ सय ७ सदस्यीय प्रदेशसभामा कांग्रेस, एमाले र जनमत पार्टीका ५८ प्रदेशसभा सदस्यहरुको समर्थनमा दावी पेश गरिएको हो ।