एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ :
नेपाली कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधि एमाले सचिव पुर्व उपप्रधानमन्त्री रघुविर महासेठको जनकपुरधाम स्थित क्षतिग्रस्त घरको निरिक्षण अवलोकन गरेका छन् । शनिवार नेता निधि गत भदौ २४ गतेको विध्वंशकारी आगजनी र लुटपाटबाट क्षति ग्रस्त एमाले नेता महासेठको घर अवलोकन गर्न उनको ब्रम्हपुरी स्थित निवास पुगेका थिए ।

त्यसैगरि निधि आफना पार्टीका सहमहामन्त्री महेन्द्र यादवको रजौल स्थित क्षतिग्रस्त निवास, पार्टीका प्रदेश सांसद तथा वर्तमान खानेपानी उर्जा तथा सिँचाई मन्त्री शेषनारायण यादव, एमालेका प्रदेश सांसद (हाल निलम्बित) दिपेन्द्र ठाकुरको निवासमा समेत पुगेर स्थलगत क्षतिको अवलोकन गरेका छन् ।

पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधि त्यसका अलावा मधेश प्रदेश सरकारको मुख्यालय मधेश भवन, प्रदेशसभा सहितको क्षतिग्रस्त सरकारी सार्वजानिक भौतिक संरचनाहरुको पनि स्थलगत अवलोकन गर्दै घटना बारेमा नेता कार्यकर्ता र स्थानिय संग जानकारी लिएका छन् ।

मधेशको राजधानी जनकपुरधाम हुनुपर्ने र त्यसका लागि मुख्यालय तत्कालिन जचुकालीमै उपयुक्त हुने नेता निधिले त्यसबेला अडान लिएका थिए ।

उनले आन्दोलनको नाउँमा मधेशको राजधानी जनकपुरधाममा भएको लुटपाट र आगजनी संघियता उपरको प्रहार रहेको बताए । मिल्स एरिया स्थित नेता निधिको घरमा पनि सोहि दिन तोडफोड र आगजनीको प्रयास भएको थियो ।