एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : कांग्रेसले बुधवार १२ बजे संसदिय दलको निर्णय सार्वजानिक गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहलाई दिइएको समर्थन र मन्त्री फिर्ताको निर्णय सुनाएको छ । सो निर्णय कांग्रेसले प्रदेशसभा र प्रदेश प्रमुख कार्यालयलाई पनि जानकारी गराइसकेको छ ।
बुधवारै बसेको प्रदेशसभा बैठकमा पुगको मुख्यमन्त्रीको मोरलले पनि मधेशमा नयाँ सरकार गठनको संकेत गरिसकेको छ । अव मधेशमा एमाले कांग्रेस र लोसपाको मुख्य समीकरणमा सरकार बन्ने देखिन्छ । एसपी खवरसंगको कुराकानीमा एमाले मधेश संसदिय दलका नेता सरोज यादवले केन्द्रबाट त्यस्तै संकेत आएको स्वीकार गरेका छन् ।
अहिलेको परिस्थिति अनुसार केन्द्रिय तहको निर्णय मुख्य हुन्छ, कांग्रेस र लोसपा समेतको विषय केन्द्रमा पनि प्रवेश पाएको थाहा पाएको छु, उनले भने । प्रदेशसभा चलिरहँदा एमालेका यादव, कांग्रेस मधेशका सभापति तथा दलका नेता कृष्णा यादव र लोसपाका जितेन्द्र सोनल तथा जयनुल राइन बाहिर निक्लेर छलफल गरेका थिए ।
अहिलेको अवस्थामा मधेशको नेतृत्व मधेश केन्द्रित दललाई नै दिने पुनः एमाले र कांग्रेसका नेताहरुको तयारी देखिन्छ । एमालेका नेता यादवले भने, ‘रहर गरेर हुदैन राजनीति अवस्था र परिस्थिति अनुसार अगाडि बढ्छ, दावी सबैको हुन्छ निर्णय अरु केहि हुन्छ ।’ स्रोतका अनुसार लोसपाबाट हालको अवस्थामा जितेन्द्र सोनलको नाम प्रवल देखिन्छ । त्यसै गरि लोसपामै निरन्तर दोस्रो पटक जितेर आएका उपेन्द्र महतोको पनि चर्चा चलिरहेको छ ।
मधेश र संघीयताको पक्षमा अनवरत प्रखर रुपमा बोल्ने र मधेश प्रदेशसभामा सिनियर तथा दोस्रो पटक निरन्तर निर्वाचित नेता भएकाले उनीहरुको सम्भावना रहेको बताइन्छ । यद्यपि लोसपाका मधेशका संसदिय दलका नेता हुन जयनुल राईन । उनले पनि आफनो दावी स्वभाविक रहने बताउछन् । उनी पनि दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन । उनले जसपा र जनमतले चलाइसकेकाले अव स्वभाविक रुपमा लोसपाको पालो आएको बताए ।





