एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता जोगाउन आफूले राजीनामा नदिएको स्पष्ट पारेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको प्रदेशसभा भवनमै बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीयतामाथि प्रहार भइरहेको अवस्थामा राजीनामा दिनु उपयुक्त नहुने बताए।
जनमत पार्टीले राजीनामाको निर्देशन दिएको सन्दर्भमा मुख्यमन्त्री सिंहले आफू मैदान छोडेर भाग्ने पक्षमा नरहेको अडान दोहोर्याए। उनले भने, “म केवल दलको सिपाही मात्र होइन, प्रदेशको मुख्यमन्त्री पनि हुँ। संघीयता संकटमा परेको बेला राजीनामा दिनु मेरो नैतिकताले मान्दैन।”
मुख्यमन्त्री सिंहले संघीयताका कारण मुलुकमा आर्थिक भार बढेको आरोपलाई खारेज गर्दै संघीयता आएपछि केन्द्र र प्रदेश दुवै तहमा विकास भएको तथ्य युवाहरूसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए। उनले भने, “चाहेजस्तो विकास नभएको स्वीकार्छु, तर संघीयता आएपछि भएको प्रगतिलाई जनतासमक्ष स्पष्ट पार्नु आजको आवश्यकता हो।”





