एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले “सिस्टम सुधारका लागि जनदबाब अभियान”सहित चुनावमा जाने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिनुभयो।

बैठकले देशलाई लुट्ने भगौडा र दलाल वर्गको अन्त्य गर्दै दलतन्त्रलाई विस्थापित गर्ने तथा आम जनताको शासन स्थापित गर्ने विश्वास व्यक्त गरेको अध्यक्ष साहले बताए। उहाँका अनुसार, देशको अवस्था बदल्नका लागि व्यवस्था नै बदल्नुपर्ने र राष्ट्रिय स्वाधीनता जोगाउन सङ्घर्ष अपरिहार्य भएको निष्कर्ष बैठकले निकालेको छ।
अध्यक्ष साहले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिँदै पार्टीका कार्यकर्तालाई संयमित र चनाखो रहँदै सङ्घर्षसहित चुनावी अभियानमा सक्रिय रूपमा जुट्न निर्देशन दिनुभयो।





