एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ :
जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी निर्णय अवहेलनासहित अनुशासनहीन गतिविधि गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेको छ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखी तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्।
पत्रमा भनिएको छ– मधेश प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको निर्णय गर्दै मुख्यमन्त्रीसहित आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने तथा पदत्याग गर्न निर्देशन दिएको थियो। तर मुख्यमन्त्री सिंहले उक्त निर्णय पालना नगरी राजीनामा नदिएर पार्टी निर्णयको अवहेलना गरेका छन्।
अनुशासन समितिले सिंहमाथि अन्य दलसँग साँठगाँठ गरी पार्टीको हित विपरीत कार्य गरेको, पार्टीलाई आघात हुने काम गरेको र संगठनको छविमा आँच पुर्याएको आरोपसमेत लगाएको छ।