एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ :
जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ । पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन अल्टिमेटम दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले नेतृत्व परिवर्तनको औपचारिक माग गरेका हुन् ।

नेतृत्व परिवर्तनको मागसहित पेश गरिएको पत्रमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको उल्लेख गर्दै पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको जनाइएको छ ।
नेताहरूले पछिल्ला दिनमा देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यअनुसार अघि बढ्न नसकेको दाबी गरेका छन् । उनीहरूका अनुसार पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउन नयाँ नेतृत्व अपरिहार्य भइसकेको छ ।
यस्तै, पार्टी निर्माणदेखि हालसम्म योगदान दिने सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई संगठन पुनर्गठन र सुदृढीकरणमा सक्रिय भूमिका खेल्न पनि आग्रह गरिएको छ ।