काठमाडौँ , भदौ ३० :
आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा जुटेको छ । गृहमन्त्रालयले आयोगलाई औपचारिक जानकारी नदिए पनि आयोगले मतदाता नामावली संकलनलगायतका तयारीका विषयमा छलफल सुरु गरेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । त्यसैले स्वतः जानकारीमा लिएर छलफल सुरु गरिएको हो,’ घिमिरेले भने, ‘मतदाता नामावली संकलनबारे समेत छलफल भइरहेको छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका थिए । यस घोषणापछि आयोगले रूपन्देही–३ मा तय भएको उपनिर्वाचन रद्द गरेको छ । सो क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने तय भए पनि अब त्यहाँ फागुनको आम निर्वाचन हुनेछ ।
तर, मनाङ प्रदेशसभा क्षेत्र–२ मा भने कात्तिक १७ गते नै उपनिर्वाचन हुने आयोगले जनाएको छ । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) विजयी भएका थिए । तर, ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई जेल सजाय सुनाउँदै गण्डकी प्रदेशसभा सदस्यका हैसियतमा पदमा बस्न अयोग्य ठहर गरेको थियो । त्यसयता मनाङ–२ रिक्त रहँदै आएको छ ।
निर्वाचन आयोगले सो स्थानमा उपनिर्वाचन गर्ने तयारीसँगै फागुनमा हुने आम निर्वाचनका लागि आवश्यक पूर्वतयारी अगाडि बढाएको जनाएको छ ।