एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ८ :
आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई फसाउने गरी गौर हत्याकाण्डलाई लिएर सर्वोच्च अदालतको परमादेश आएको भन्दै आन्दोलित जसपा नेपालले जनकपुरधाममा सातौँ दिन पनि विरोध प्रदर्शनलाई जारी राखेको छ ।
विगत ७ दिनदेखि विभिन्न विरोधका कार्यक्रम गर्दै आईरहेको जसपा नेपालले सातौँ दिन जनकपुरधाममा बृहत विरोध जुलुश निकालेको छ । सरकारविरुद्ध नारावाजी गर्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले निकालिएको विरोध जुलुश नगर परिक्रमा गरेको थियो । जनकपुरधामको भानु चोकबाट निकालिएको जुलुश कदम चोक, विद्यापति चोक, रामचोक, सोनापट्टी, जानकी मन्दिर हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मधेसलाई मरुभूमिकरणबाट जोगाउन आफ्नो अध्यक्षले भूमि विधेयकको विरोध गरेका कारण वर्तमान सरकारले गौर हत्याकाण्डलाई प्रतिशोधको हतियारको रुपमा प्रयोग गरिरहेको आरोप जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले लगाउनुभयो । उहाँले गौर हत्याकाण्ड तत्कालिन नेकपा माओवादीको मधेसी मुक्ति मोर्चाको नेतृत्वमा भएको आरोप समेत लगाउनुभयो । उहाँले नेपालमा विधिको शासन रहेकाले सर्वोच्चको परमादेशलाई स्वीकार गरेपनि निश्पक्ष अनुसन्धान नगरी पूर्वाग्राही ढंगले अगाडी बढ्ने प्रयास गरिए त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

मधेस आन्दोलनबाट प्राप्त संघियता, समावेशिता, भाषिक अधिकार लगायतका उपलब्धीहरु समाप्त गर्ने षडयन्त्र अनुरुप अदालतको परमादेश आएको जसपा नेपालका नेता कार्यकर्ताहरुको आरोप । सर्वोच्च अदालतले एक साता अगाडी १९ वर्ष पहिले भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडी बढाउन परमादेश दिएको थियो ।