एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विरोधीहरुले देशलाई अँध्यारो युगमा धकेल्ने प्रयासमा लागेको आरोप लगाउनु भएको छ । मधेस प्रदेश प्रहरी भवनको नवनीर्मित भवनको उदघाटन गर्नु हुँदै प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्था अप्रिय लाग्नेहरु देशलाई पछाडी धकेल्ने प्रयासमा लागेको बताउनुभयो । उहाँले नेपाली जनता राजतन्त्र, राणा शासन तथा पञ्चायती व्यवस्था देखि सकेकाले संघर्ष तथा बलिदानबाट वर्तमान व्यवस्था ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो ‘राजतन्त्र तथा राणा शासन उस्ता उस्तै थिए, नेपाली जनतालाई थाहा छ त्यसैले अब नेपाल त्यो अँध्यारो व्यवस्थामा फर्कनु हुँदैन ।’
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले रास्वपा, राप्रपा सहितका दलका साथै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लक्षित कटाक्ष समेत गर्नुभयो । उहाँले प्रचण्डप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले आज सरकार ढल्छ भोली सरकार ढल्छ भन्नेहरु थाकि सकेको बताउनु हुँदै भने ‘सरकार ढल्ने सांरंगी बजाउनेहरुको सारंगीको तार टुटी सकेको छ ।’ उहाँले कांग्रेस र एमाले मिलेर बनेको सरकारले मुलुकलाई स्थायी सरकार दिएको र वर्तमान सरकारले देशको समृद्धिका लागि काम गर्ने बताउनु भयो ।
एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गर्नकालागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा सुशासन कायम गर्नकालागि भ्रष्टाचार नियन्त्रण तथा छिटोछरितो र बिना झन्झट जनताको काम गर्ने परिपाटीको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले मधेस प्रदेश प्रहरीको भवन निर्माण संगै सेवा प्रवाहमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।





