एसपी रिपोर्टर
रौतहट, असार २७ : जनमत पार्टीबाट निष्कासन गरिएका पदाधिकारीहरुले पार्टी नतृत्वको भण्डाफोर र वैकल्पिक आधार तय गर्न मधेशमा जन संवाद यात्रा भन्ने अभियान थालेको छ । मधेशको रौतहटबाट सुरु गरिएको यात्रामा नेतृत्वको वर्तमान कदमको समिक्षा र गलत गतिविधिको भण्डाफोर गरिदै छ ।
केही नयाँ प्रयोग सहित जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साह, कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य विरेन्द्र साह सोनारको अगुवाईमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तर संघर्षको रुपमा “जन सम्वाद यात्रा“ रौतहटबाट सुरु गरिएको बताइएको छ । कार्यक्रममा सयौंको संख्यामा स्वराजीहरूको उपस्थित थियो ।

दुई नयाँ प्रगतिशीलताको अभ्यास र प्रयोगको प्रयास समेत शुरुवात गरिएको कार्यक्रमको सभाहलमा “गोलमेचको व्यवस्था गरिएको थियो“ – जहाँ परम्परागत देखिने सोफा र फूलमाला अवीरको फजुल खर्च नगरी सबै नेता कार्यकर्ता तथा सहभागीहरूसँगै समानरुपमा एउटै कुर्सीमा सम्मान ठाउँ र गोलाकार घेरामा बसेर बैठक, छलफल र अन्तर सम्वाद गरिएको छ ।

मालाले होइन, मनले स्वागत गर्ने, भाषणले होइन्, व्यवहारले पुष्टि गर्ने, लामो सम्बोधन होइन्, छोटो र मिठो सम्बोधन गर्ने – नयाँ पार्टी, नयाँ राजनीतिक संस्कार र संस्कृतिको विकास गर्ने प्रयास गरिएको नेताहरुको भनाई छ ।





