सोनु साह
जनकपुरधाम, असार २२ :
नेकपा एमालेका सचिव रघुविर महासेठले आफु धनुषाको विकासको सवालमा जो सुकै संग पनि बस्न तयार रहेको भन्दै पत्रकार महासंघ धनुषालाई वातावरण निर्माणको अगुवाई गर्न अपिल गरेका छन् ।

प्रेस चौतारी नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासंघ धनुषाका अध्यक्ष पुरन साहले गरेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन । अध्यक्ष साहको प्रश्न थियो, ‘दुई ठुला शक्ति कांग्रेस र एमालेको दुर्लभ र अप्रत्याशित गठबन्धन छ, पहाड र हिमालमा दुवै दलका नेता मिलेर विकास धमाधम गर्दै लाभ लिइरहेका छन तर मधेशमा तपाईहरु लडेर विवाद गरेर सबै विर्गार्दै हुनुहुन्छ, यो जनताको गुनासो हो, सहि हो कि होइन ?’

जवाफमा पुर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले भने, ‘प्रश्न कर्ता ज्यू पत्रकार महासंघको अध्यक्ष हुनुहुन्छ, तपाई पहल गर्नोस तपाईँको अगुवाईमा हामि दुईपार्टी र अन्य पार्टीका संघिय सांसद धनुषाको विकासमा साँझा सहमति खोज्न तयार छौं, हामि कुनैपनि बेला आउँछौं ।’ उनले मधेशमा कांग्रेसले विमलेन्द्र निधि जस्तो विद्वान नेता पाएको र आफनो मिल्ने साथी समेत रहेको भन्दै वादविवाद भन्दा सबै संग सहकार्यका लागि तयार रहेको बताए ।

महासंघका अध्यक्ष साहले पहाडमा जस्तै ब्यालेटमा मात्र राजनीति गर्न र विकासमा साझेदारी गर्न एमाले र कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए । अध्यक्ष साहले थपेका थिए, ‘सिक्स (6) लेन सडक निधि र महासेठले बनाउने अनि समुदघाटन अर्को मन्त्रीले गर्ने ? नेपाल रेल्वे निधि र महासेठ दुवैले बनाउने अनि समुदघाटन तेस्रोले गर्ने ? यस्तो वातावरण किन बन्छ ? अनि विवाद गरेर त यहाँहरुलाई पनि कहाँ फाइदा देख्दैछु त ?’ देउवा र ओली जस्तै तपाँईहरु किन मिल्न सक्नु हुन्न ? कारण के छ ?

जवाफमा महासेठले प्रश्नका लागि धन्यवाद र बौद्धिक जमातको अगुवा संस्था पत्रकार महासंघ धनुषालाई पहलकदमीका लागि आग्रह पनि गरे ।