एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ :
नेकपा एमालेका नेताद्वय रघुविर महासेठ र जुली महतोले राजर्षिजनक विश्वविद्यालयको भौतीक संरचना मनियारीको जग्गामै बन्नेमा एमाले कतै पनि बाधक नरहेको स्पष्ट गरेका छन् ।

प्रेस चौतारी नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले गठबन्धनको कुरा गर्नेहरु व्यक्तिगत स्वार्थका कारण पार्टी गठबन्धनलाई असर हुने गरि काम गर्न नहुने बताएका छन् ।

उनले विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री आउन लाग्दा नै मनियारीमा विश्वविद्यालयको भवन निर्माणको समेत शिलान्यास गर्न सांसद जुली महतोले सुझाएको स्मरण गराए । महासेठले एमाले र कांग्रेसको गठबन्धन बिर्गान केहि समानुपातिक सांसदहरु पहिला देखिनै सक्रिय रहेको समेत आरोप लगाएका थिए । उनले पुर्व राष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपि शर्मा ओलीमा कुनै मतभेद नरहेको र भण्डारी जी अव एमालेमा अध्यक्षकै निर्देशनमा काम गर्न तयार रहेको बताए ।

जनताबाट निर्वाचित प्रतिनिधीसभा सदस्य जुली महतोलाई पटक पटक महिला सांसद भनेर गलत उच्चारण र विभेद भइरहेको तर्फ लक्षित गर्दै महासेठले २०७४ साल अघि र पछिको जनकपुरधामको विकासको मापन गर्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा उपस्थित सांसद जुली महतोले अव जनता सचेत र जागरुक भइसकेकाले कसैको विरोध र वादविवाद भन्दा जनताको सेवा र विकासमा लागेर जनताको मत जित्ने समय आएको बताइन । उनले आफुहरु धनुषाको विकासमा सबै संग सहकार्य गर्न तयार रहेको बताए ।