एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ :
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक बाटो सुधार गर्नुपर्नेमा जोड दिएका छन् । मुद्दा दायर र धरौटीमा रिहाको घटना पछि पहिलो पटक मधेश आएका उनले मंगलबार जनकपुरधाममा आयोजित पार्टीको सातौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै देशको राजनीतिमा देखिएको विचलन र नैतिक पतनले जनतामा नेतृत्वप्रति आक्रोश र निराशा बढेको स्वीकार गर्दै अबको प्राथमिकता कम्युनिष्ट आन्दोलनको छवि सुधार र जनविश्वास पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

पार्टीप्रति बढ्दो आलोचना र असन्तोषको जडमा पुँजीवादी चिन्तन र प्रतिक्रियावादी प्रवृत्तिहरू रहेको उल्लेख गरे । उनले यस्तो प्रवृत्तिविरुद्ध दृढ संघर्ष गर्दै पार्टीलाई जनमुखी बनाउने दिशा तय गर्नुपर्नेमा जोड दिए ।

‘अब नेतृत्वले पछाडि फर्केर चुप लागेर बस्ने समय छैन,’ अध्यक्ष नेपालले भने, ‘हामीले पार्टीभित्रका विकृति सच्याउँदै जनताको पक्षमा स्पष्ट धारणा र कार्यनीतिका साथ अघि बढ्नैपर्छ ।’

पतञ्जलि जग्गा प्रकरणबारे प्रतिक्रिया दिंदै उनले आफू कुनै पनि प्रकारले संलग्न नरहेको प्रस्ट पारे । ‘मैले जहिल्यै सत्यको पक्षमा संघर्ष गरेको छु र आज पनि म सत्यको जितमा विश्वास राख्छु,’ नेपालले भने । उनले आफू डराउने, भाग्ने प्रवृत्तिको व्यक्ति नभएको भन्दै सत्य, इमानदारी र पारदर्शिता नै आफ्नो नेतृत्वको आधार रहेको पुनः दोर्होयाए ।

अध्यक्ष नेपालले पार्टीको नीति र विचारधारालाई सशक्त बनाउँदै आगामी दिनमा जनअपेक्षा अनुसार कार्यनीति तय गर्न नेता–कार्यकर्तालाई आग्रह गरे । अधिवेशनमा उनले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउने दिशामा सामूहिक प्रयासको खाँचो औंल्याए ।

कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि अध्यक्ष नेपालको विचारलाई समर्थन गर्दै पार्टीको नवसंरचना, व्यवहारिक राजनीति र जनमुखी योजनाको कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए । सातौँ जिल्ला अधिवेशनले संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र राजनीतिक कार्यदिशामा नयाँ ऊर्जा भरिदिने विश्वास गरिएको छ । सो अवसरमा नेता रामचन्द्र झा, श्री प्रसाद साह सहितका उपस्थिती थियो ।