एसपि रिपोर्टर
जनकपुरधाम, असार ११ :

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुने मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु हुनुअघि नै विवादमा तानिएको छ । असार १२ गते बिहीबारदेखि १४ गतेसम्म जनकपुरधाममा हुने प्रतियोगितामा ५० लाख रुपैयाँ खर्च हुन लागेको छ, तर विजेता टिमका लागि पुरस्कार राशी न्यून राखिएको भन्दै आलोचना भइरहेको छ ।

सातै प्रदेशको सहभागिता रह्ने प्रतियोगितामा प्रथम टिमलाई २५ हजार, द्वितीय टिमलाई २० हजार र तृतीय टिमलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । यति ठूला प्रदेशस्तरीय खेलमा यति कम पुरस्कार राशी राखिनु मधेस प्रदेशको बेइज्जती भएको खेल क्षेत्रका व्यक्तिहरूको भनाइ छ ।

गण्डकी प्रदेश कबड्डी संघका उपाध्यक्ष कृष्ण पाण्डेले पुरस्कार राशीले खेलाडीको मनोबल घटाउने बताए । उनले भने, ‘५० लाखको कार्यक्रममा खेलाडीलाई २५ हजार पुरस्कार ? यो त खेल र खेलाडी दुवैप्रति उपेक्षा हो ।’
त्यस्तै, गण्डकीबाट आएका खेलाडी दिवान आलेले भने, ‘हामी टाढाबाट यहाँ आएर खेल्न लागेका छौं, तर यस्तो कम पुरस्कार देख्दा निराश लाग्छ । कम्तीमा खेलाडीको मिहिनेतअनुसार पुरस्कार हुनुपर्छ ।’
यस विषयमा मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले भने, ‘पुरस्कार राशी कार्यविधिअनुसार तोकिएको हो । हामी आफैंले नियम तोडेर बढाउन सक्दैनौं ।’ उनले खेलाडीहरूको आवास, यातायात र दैनिक भत्ताको समेत व्यवस्था गरिएको जानकारी दिए ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशबाट ८४ खेलाडी, १४ प्रशिक्षक र व्यवस्थापक, साथै निर्णायक, अफिसियल, संघ प्रतिनिधि, स्वयंसेवक गरी ५२ जना सहभागी हुनेछन् ।

हालैका दिनहरूमा प्रदेशस्तरीय प्रतियोगितामा खर्च र पारदर्शिता सम्बन्धी प्रश्नहरू उठिरहँदा मधेस प्रदेशको यो आयोजनाले पुनः सार्वजनिक आलोचना र असन्तोष बढाएको देखिएको छ ।