एसपि रिपोर्टर
सिरहा , असार १ : सिरहाको गोलबजार नगरपालिलका–२, टुर्कियास्थित सार्वजनिक जग्गामा बिहीबार साँझ अवैध रुपमा उत्खनन भइरहेको देखेपछि स्थानीयहरुले विरोध गरे । तर, उत्खनन गर्नेहरुले ‘टिपर नै जिउमाथि चढाइदिने’ धम्की दिएपछि उनीहरुले चोहर्वास्थित सब डिभिजन वन कार्यालयलाई खबर गरे ।
सुरुमा हिचकिचाएको वनको टोलीले स्थानीयको दबाबपछि त्यहाँबाट उत्खनननमा प्रयोग गरिएका एक एक्स्काभेटर, एक टिपर र एक चालकलाई नियन्त्रणमा लियो । तर, शुक्रबार उज्यालो हुन नपाउँदै ती सवारी र चालकलाई गुपचुप रुपमा छाडिएको छ ।वनले सार्वजनिक जग्गालाई निजी अबादी जग्गा रहेको भन्दै जिल्ला समन्वय समितिबाट सामान्य जरिवाना काट्न लगाएर सवारीसाधन र चालकलाई छाडिदिएको हो । जिल्ला समन्वय समितिका अनुसार, एक्स्काभेटरबापत २० हजार र टिपरबापत १५ हजार जरिवाना मात्रै तिराइएको छ ।जबकि, उत्खनन गरिएको जग्गा निजी हो भन्ने कुरामा सब डिभिजन वन कार्यालय चोहर्वाका प्रमुख आविद हुसेन आफै स्पष्ट छैनन् । ‘जग्गा सार्वजनिक वा निजी हो भन्ने कुरा यकिन गर्न सकिएन,’ हुसेनले भने, ‘स्थानीयले निकै दबाब दिएपछि गाडी हामीले ल्याउन त ल्यायौं, तर बिहानपल्ट एक स्थानीयले मेरो जग्गा हो भन्ने दाबी गरेकाले छाडिदियौं ।’एक्सकाभेटर र टिपरले एक स्थानीयले प्रयोग गर्दै आएको जग्गामा माटो सम्याउने काम मात्रै गरेको भन्ने कुरा आएको उनको दाबी छ ।वन कार्यालय र जिल्ला समन्वय समतिमा आर्थिक चलखेल गरी उन्मुक्ति दिने काम भएको स्थानीय शिव थापाको आरोप छ । ‘हामी यहाँका स्थानीय हौं, सार्वजनिक जग्गा भएरै हामीले वनलाई खबर गरेका थियौं, तर आर्थिक चलखेल गरी उन्मुक्ति दिइयो,’ उनले प्रश्न गरे, ‘कसैले भन्दैमा सार्वजनिक जग्गा निजी भइहाल्ने हो ? सरकारी निकायले अनुसन्धान गर्नुपर्दैन ?’वनद्वारा नियन्त्रणमा लिएर छाडिएका एक्स्काभेटर र टिपर गोलबजारका ठेकदार विजय साहको हो । गोलबजार क्षेत्रका विभिन्न भागमा वन, प्रहरी, नगरपालिका र जिल्ला समन्वय समितिलाई आर्थिक प्रभावमा पारेर उनले लामो समयदेखि यसैगरी अवैध उत्खनन कार्य गर्दै आएको स्थानीयको आरोप छ । तर, साहले आफू निर्माण व्यवयासी भए पनि उत्खनन भने नगरेको दाबी गरे ।



