एसपि रिपोर्टर
पर्सा , जेठ २९ : अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ । महानगरपालिका कार्यालयले बिहीबार र शुक्रबारका लागि वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिएको हो । कार्यालयले बिहीबार सूचना जारी गर्दै केही दिनयता अत्यधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । सूचनामा विद्यालय प्रशासनलाई बिदाको समयमा पनि विद्यालय प्रशासन खुला राख्न निर्देशन दिइएको छ ।सातायता वर्षा नभएकाले पर्सामा अत्यधिक गर्मी बढेको छ । गर्मीकै कारण प्रायः सबै विद्यालयले बिहानी कक्षा सञ्चालन गरेका थिए । तर बिहानीको समयमा पनि अत्यधिक गर्मी बढेर अभिभावकबाटै विद्यालयमा बिदाको माग बढेको थियो ।



