एसपि रिपोर्टर
काठमाणडौँ , जेठ २८ : नेपाल प्रहरीका अधिकृतहरूसँग साइबर जोखिमबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनिस सोलुशनले अन्तरक्रिया आयोजना गरेको हो ।
नेपाल प्रहरीको नेतृत्व तहलाई साइबर खतरा र विकसित परिदृश्यबारे जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जेनिस सोलुसनले जनाएको छ । मङ्गलबार सम्पन्न कार्यक्रममा राष्ट्रिय महत्वका पूर्वाधार तथा संवेदनशील कानुन कार्यान्वयनसम्बन्धी डेटाको सुरक्षा रणनीतिबारे अन्तरक्रिया गरिएको थियो ।जेनेस सलुशनका ग्लोबल सिटिओ तथा सिआइएसओ निरञ्जन कुँवरले सो कार्यक्रममा एड्भान्स पर्सिस्टेन्ट थ्रेट्स (एपिटिएस) र आन्तरिक खतराहरुले विश्वभरिका सुरक्षासम्बन्धी निकायहरूमा पारेको प्रभावबारे चर्चा गरे ।उनले अमेरिकाको न्यूजर्सीमा प्रहरी विभागहरूलाई ठप्प बनाउने र्यानसमवेयर आक्रमणदेखि बङ्गलादेशमा भएका साइबर डिफेसमेन्टसम्मका घटनाका आधारमा साइबर आक्रमणले पार्न सक्ने आर्थिक, संस्थागत र सञ्चालनगत जोखिमबारे बताए ।कार्यशालामा वरिष्ठ अधिकृतहरूले र्यानसमवेयरले मुख्य प्रणालीहरूलाई लक्षित गर्दा कसरी तत्काल प्रतिक्रिया दिने भन्ने अभ्यास पनि गरेका थिए ।प्रविधिमा आधारित उपायसँगै कार्यशालाले सामाजिक इन्जिनियरिङ र डीपफेक जस्ता प्रविधिमा आधारित छलहरुको विरुद्धमा मानवीय क्षमता विकासको आवश्यकता पनि औंल्याईएको थियो । बलियो पासवर्डको प्रयोग, दुई तहको प्रमाणीकरण र सतर्क अनलाइन अभ्यासहरू अपनाउनुपर्ने कुरामा जोड दिइएको थियो । उक्त कार्यशालालाई नेपाल प्रहरीको साइबर तयारी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ र यसले बदलिँदो डिजिटल परिदृश्यमा राष्ट्रिय हित सुरक्षाका लागि नेतृत्व तहको प्रतिबद्धतालाई थप बलियो बनाएको विश्वास गरिएको छ ।





