एसपि रिपोर्टर
जनकपुरधाम , जेठ २८
: मधेश प्रदेशसभामा नेकपा एमाले सांसद दिपेन्द्र ठाकुर निलम्बनबारे जानकारी गराइएको छ । बुधबार सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको निलम्बनसम्बन्धी पत्र पढेर जानकारी गराएका हुन् ।

मंगलबार अख्तियारले ठाकुरसहित १७ जनामाथि धनुषाको औरही गाउँपालकिामा १५ शय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।ठाकुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए । मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेतासमेत रहेका थिए । उनको डी एन्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रहेको निर्माण कम्पनीबाट कार्य अनुभवलाई संशोधन गरी सात दिनको म्याद थप गरी ठेक्का हात पारेका थिए ।ठाकुरविरुद्ध अख्तियारले ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना माग गरेको छ । यसअघि लोकतानित्रक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मा पनि मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विक हत्यामा जिल्ला अदालतबाट दोषी ठहर भएर निलम्बन भएका थिए ।