एसपि रिपोर्टर
पर्सा, जेठ २८ : सशस्त्र प्रहरीले मंगलबार १३ लाखभन्दा बढीको तस्करीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोली र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगन्ज मनपा-१० बजरंगटोलस्थित सुधाकुञ्ज लेखिएको ३ तले पक्की घरको ग्राउन्ड फ्लोअरमा भाडामा लिइ धिरज रौनियारले भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदाम गरी भण्डारण गरी राखेको अवस्थामा ७ लाख ७० हजार ५ सय बराबरका कपडाहरु बरामद गरेको छ ।सोही घरबाट बीआर ०५ यु ४५३० नम्बरको भारतीय मोटरसाइकल भेटाएको हुँदा उक्त मोटरसाइकलको मूल्य १ लाख ५० हजार मूल्यांकन गरी कपडासहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगन्ज कार्यालयमा बुझाइएको छ । सोही गुल्मले वीरगन्ज भन्सार कार्यालय तथा १६ स्थित विभिन्न सीमा नाकाहरुबाट २ लाख ४८ हजार १ सय बराबरका कपडाहरु र मसलाहरुसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।मंगलबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका-०५ स्थित प्रसौनिबाट भारतबाट अवैध रुपमा भन्सार छली बीआर २२ टी १४३२ नम्बरको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको २३ हजार तीन सय ८०रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।
माेटरसाइकलकाे १ लाख ८० हजार मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिएको छ ।
