एसपि रिपोर्टर
जनकपुर, जेठ २८
: गत सातादेखि लगातार बढिरहेको गर्मीका कारण जनकपुरका विद्यालयमा दुई दिनको बिदा दिइएको छ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले जेठ २९ र ३० गते गर्मी बिदा दिइएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले जानकारी दिए।मधेस प्रदेश सरकारले बुधबार कबिर जयन्तीमा मंगलबार सार्वजनिक बिदा दिएको छ। त्यसैले बुधबार पनि मधेसका विद्यालयमा बिदा छ । धनुषाको सबैला नगरपालिका–२ मा रहेको रामप्रसाद माध्यमिक विद्यालयमा मंगलबार अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएका थिए ।विद्यालयका अनुसार गर्मीका कारण विभिन्न कक्षामा अध्ययनरत २० जना विद्यार्थी बेहोस भएका थिए । जसमध्ये ३ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनीहरू सामान्य उपचारपछि घर फर्किएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस भएपछि सबैला नगरपालिकाले पनि विद्यालयमा बिदा दिएको छ ।मधेसमा गत सातादेखि बढ्दो गर्मी छ । बिहानैदेखि कडा घामसँगै तातो हावा चल्दा यहाँको जनजीवन प्रभावित बनेको छ । जनकपुरको बुधबार बिहानको तापक्रम ३४ डिग्री सेल्सियस भन्दा माथि छ । मंगलबार जनकपुर क्षेत्रको तापक्रम ३९ डिग्री सेल्सियस थियो ।