एसपि रिपोर्टर
राजविराज,जेठ २६
: आन्तरिक द्वन्द्वका कारण सप्तरीको राजविराज नगरपालिकामा विकासका कामकाज प्रभावित भइरहेको छ।

पछिल्लो एक महिनायता तीन पटकसम्म तालाबन्दी भइसकेको नगरपालिकामा पुनः विवाद चुलिँदा कामकाज प्रभावित भएको हो।पछिल्लो पटक उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत डा.श्रवणकुमार साहको सरुवा हटाएर आठौँ तहका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएपछि विवाद चुलिएको हो ।नगरपालिकाका निलम्बित मेयर भिमराज यादवसहितका स्थानीय युवाले आर्थिक वर्षको अन्त्यतिर अनियमितता गर्नका लागि उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत हटाएको आरोप लगाउँदै आइतबार नगरपालिकामा तालाबन्दी नै गरेपछि कामकाज ठप्प भएको छ ।उनीहरूले तालाबन्दीपछि अनिश्चितकालिन रिले अनशन बसेर विरोध जनाइरहेका छन् । ‘अनियमितता गर्नैका लागि चालु आर्थिकको अन्तिम समयमा उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएर निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट काम गराउन चाहेका हुन्’ उनले भने, ‘नभए उपसचिव स्तरका कर्मचारी हुँदा हुँदै आठौँ तहका निमित्तको आवश्यकता किन पर्‍यो ?’ उनले उपसचिव स्तरकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा माग राखेका छन् ।जनता समाजवादी पार्टी नेपालबाट मेयर पदमा निर्वाचित भएका यादव भ्रष्टाचार मुद्दामा ०७९ असारमा निलम्बित भइसकेपछि सोही पार्टीकी उपमेयर इसरत परविनले कार्यवाहक मेयर भएर नगरपालिका चलाइरहेकी छन् । तर, आन्तरिक द्वन्द्व पटक पटक विवाद भइरहँदा चालु आर्थिक वर्षको हालसम्म पनि नगरपालिकामा ३० प्रतिशत पनि बजेट खर्च गर्न सकेकी छैन । सो विषयमा कार्यवाहक मेयर परविनले अहिले ‘मिटिङ’ मा रहेको भन्दै पछि कुरा गर्ने बताइन् ।नगरपालिकामा यसअघि जेठ ९ मा सरसफाइ कर्मचारीले गत असारको बक्यौता रहेको १६ दिनको तलब माग गर्दै आन्दोलित भएका थिए । तलब उपलब्ध गराइने प्रतिबद्धतापछि उनीहरूले आन्दोलन स्थगित गरे लगत्तै पुनः तालाबन्दी भएको थियो । नगरपालिकाको स्कर्पियोले ठक्कर दिँदा उपचार खर्च नदिएको भन्दै जेठ १४ मा पीडित परिवारले नगरपालिकामा तालाबन्दी गरेका थिए ।पुनः कामकाज सुचारु भएको चार दिन नबित्दै जेठ २३ मा करारका कर्मचारी हटाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत साह र योजना शाखाका अधिकृत मनोजकुमार यादवको सरुवाको माग गर्दै कर्मचारीहरू नै आन्दोलित हुँदा कामकाज प्रभावित हुँदै आएको छ ।