एसपि रिपोर्टर
रौतहट ,जेठ २४ : लालबकैया र बागमती नदीमा आउन सक्ने बाढीबाट बाँध र बस्ती जोगाउन ‘स्पर’ निर्माणको ठेक्का लागे पनि बजेट उपलब्ध नहुँदा काम प्रभावित भएको छ ।
बर्खा अगावै बाँध मर्मत र स्परको काम नभए स्थानीयले डुबानको समस्या झेल्नुपर्नेछ ।बागमती–लालबकैया नदी नियन्त्रण आयोजनाले दुवै नदीमा बाँध मर्मत तथा स्पर निर्माणका लागि चैत २०८१ र २ जेठमा ठेक्का सम्झौता गरेको थियो । तर बजेट थोरै भएको भन्दै निर्माण कम्पनीले काम सुरु गर्न मानेको छैन । ‘दुवै नदी नियन्त्रण गर्न स्परका लागि १९ करोडमा ठेक्का लागिसकेको छ ।तर सरकारले ४० लाख मात्र दिने भयो,’ बागमती–लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख अखलाक अहमद सिद्दिकीले भने, ‘यस्तो अवस्थामा कसरी निर्माण अघि बढाउने ? बजेट कम भएकै कारण देखाएर ठेकेदारले पनि काम गर्न चासो देखाएको छैन ।’नदी नियन्त्रण आयोजनामार्फत अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि पहिलो पटक १५ करोडमा ९ वटा स्परको ठेक्का लागेको थियो । जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरणमार्फत थप ४ करोडका ३ वटा स्पर बनाउन ठेक्का लागेको आयोजनाले जनाएको छ ।आयोजना प्रमुख सिद्दिकीका अनुसार अहिलेसम्म २ वटा ठेक्काको मात्र काम सुरु भएको छ । बाँधको सुरक्षाका लागि आयोजनाले एक वर्षभित्र काम सक्ने गरी स्पर बनाउन ठेक्का लगाएको हो । स्पर बनाउन नसके बाढीले बाँध भत्काएर गाउँ पस्ने जोखिम छ ।राजदेवी नगरपालिकास्थित बागमती नदीमा नयाँ स्पर र पुरानो मर्मतको ठेक्का पाएको श्रीजी बिल्डर्सका सञ्चालक आनन्दसागर सिंहले पेस्की रकम नै नपाएका कारण काम सुरु गर्न नसकिएको बताए ।लालबकैयाको पश्चिमी भेगका बैरिया, फतुहा, पोखरिया, तेजापाकड, खोरिया, बुटुवा लक्ष्मीनिया, इनर्वा, मर्यादपुर, गम्हरिया, बुनियाद, लक्ष्मीनिया क्षेत्रका बासिन्दा बाढीको त्रासमा छन् ।बागमतीको पूर्व सर्लाहीतर्फ धुर्वामा, महिनाथपुरमा, हरकठवा, मानपुरमा, मानपुर ढाव, हजरिया मलाह, राजघाट खर्साल क्षेत्रमा पनि बाढीले क्षति पुर्याउँदै आएको छ । लालबकैया र बागमतीमा बाँध भत्किए सदरमुकाम गौरसहित आसपासका ब्रह्मपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मीपुर, वसन्तपुर, भषेढवा, पिप्रालगायतका दर्जन बस्तीमा बाढी पस्ने जोखिम बढ्छ । पश्चिमको बडहर्वा, चण्डिया क्षेत्रको बाँधको अवस्था उस्तै छ ।बाँध मर्मत नहुँदा यस क्षेत्रको लक्ष्मीपुर, बलुवा, धर्मपुर, गम्हरिया, संग्रामपुर, गढो, सिगारमन, गंगापिपरा, माधोपुरलगायतका गाउँ बाढीको उच्च जोखिममा छन् । गत वर्ष लालबकैयाको बाढीले इनरबारीस्थित बाँध भत्काएको थियो । त्यसबेला प्रशासनले सेना, प्रहरी र स्थानीयको सहयोगमा भत्किएको स्थानमा बोरा राखेर अस्थायी रूपमा डुबान रोकेको थियो ।बागमती बाँधको आडैमा झन्डै ४ सय घरधुरी छन् । बाँध भत्कियो भने सबै बगाउने खतरा बढेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । ‘बाँध मर्मत र नयाँ स्परको ठेक्का लगाएर बजेट सुनिश्चित नगरेकाले समस्या भएको छ,’ उनले भने, ‘यस वर्ष बाँध मर्मत भएन भने डुबानले ठूलो क्षति पुर्याउँछ ।’आयोजनाले लालबकैयातर्फ ७ र बागमतीमा ५ वटा स्पर निर्माण गर्न लागेको हो । गएको जेठमा नदी नियन्त्रण आयोजनाले ५० स्थानमा मर्मत गरेको थियो । भारत सरकारको सहयोगमा सन् १९८९ मा झन्डै ३७ किलोमिटर लामो बाँध निर्माण गरिएको थियो । लालबकैया र बागमतीको पूर्व र पश्चिम क्षेत्रमा वर्षायाममा बाढी नियन्त्रण गर्न बनाइएको उक्त बाँध ठाउँ–ठाउँमा भत्किएको छ । यही बाँधबाट पानी गाउँमा पसेर डुबान हुने गरेको छ ।





