एसपि रिपोर्टर
काठमाणडौँ ,जेठ २४
: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको बताएका हुन् ।नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरू आत्तिएको उनको भनाई थियो । अध्यक्ष नेपालले केही व्यक्तिहरूलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे।अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए । पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लगाएको गलत आरोप विरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालिकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे ।