एसपि रिपोर्टर
पर्सा , जेठ २४ : गत वर्षको बाढीले क्षतिग्रस्त भएको गण्डक नहरको एप्रोच सडकस्थित तिलाबे खोलामा स्टिल बेलिब्रिज निर्माण गरिने भएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार, सडक विभागले उक्त खोलामा पुल स्टिलको बेलीब्रिज जडान गर्न लागेको हो । यसका लागि सडक विभागले टेन्डर आह्वान गरी टेन्डर प्रक्रियाले पूर्णतासमेत पाइसकेको छ ।सडक विभागले पुल निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ३ करोड ३० लाख रुपैयाँको टेन्डर आह्वान गरेकोमा प्रतिस्पर्धामा ज्वाइन्ट भेन्चरको कम्पनी मेदान्त/महम्मद इस्लामले ३ करोड १७ लाख रुपैयाँमा पुल निर्माणको टेन्डर सकार गरेका छन् ।कार्यालयले दिएको प्राविधिक डिजाइन अनुसार नै सडक विभागले बेलिब्रिजको टेन्डर आह्वान गरेको इन्जिनियर साहले बताए । ‘अब ठेकेदार कम्पनीले बेलिब्रिज जडानको काम गर्ने छ,’ उनले भने, ‘त्यसपछि पुलको पूर्वी र पश्चिमी दुवै भागमा खोला नियन्त्रणका लागि तार जाली लगायतका भौतिक संरचना निर्माणको कार्य हाम्रो कार्यालयले गर्ने छ ।’नहरस्थित तिलाबे खोलाको आरसिसी पुल गत वर्ष असार महिनामा आएको भीषण बाढीले क्षतिग्रस्त भएको थियो । पुलको एउटा पिल्लर पूर्णरूपले क्षतिग्रस्त र अर्को आंशिक क्षति पुगेको छ । पिल्लरसँगै पुलको फ्लोर (भुइँ)मा पनि क्षति पुगेको छ । नरहको साइफन र पुल जोडिएकाले पुलको पिल्लरमा क्षति पुगेपछि फ्लोरमा पनि क्षति पुग्न गएको हो । करिब ७० मिटर लामो यो पुलले वीरगन्ज महानगरपालिका र बहदुरमाई नगरपालिकाको सिमानाको समेत काम गरेको छ ।





