एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेस सरकारको निति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रस्तुत गरेकी हुन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस वर्ष पनि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको छ । नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिबृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।
मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रम भने यस पटकपनि आकर्षक नाराले भरिएको छ ।

कृषिलाइ अर्थतन्त्रका मेरुदण्डका रूपमा प्रयोग गरी मधेसलाई आत्मनिर्भर बनाउन ‘मधेशले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारा दिइएको छ भने ‘मधेशको शान, स्थानीय मखान’ नाराका साथ मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘आँपको बगौचा, मधेशको समृद्धि’ नाराकोसाथमा वृहत आँपको क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा लक्ष्य दिइएको छ । ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ को अभियानलाई आत्मसाथ गर्दै एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाईने सरकारको लक्ष्य रहेको छ ।
रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घर–घरमा रोजगारी नारा दिइएको छ । बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ, साक्षरता के दीप जलाओ’ नारा दिइएको छ भने शिक्षामै अर्को, नारा छ ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा’ । स्वास्थयतर्फ पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश नाराको माध्यमबाट मातृ शिशु स्वास्थ्य प्रवद्र्धन गरिने उल्लेख छ ।
स्वस्थ समाजको लागि गुणस्तर शिक्षा” नीति अवलम्बन गर्दै स्वास्थ्य, शिक्षाका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने नीति सरकारको छ ।
पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश” नारालाई आत्मसात गरी मातृ शिशु स्वास्थ्य प्रवद्र्धन गर्ने “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” तथा “स्वस्थ नागरिक समृद्ध प्रदेश” अभियानलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने “उद्यमशील महिला, समृद्ध मधेश” नारालाई आत्मसात गर्दै महिलालाई उद्यमशीलता तिर उन्मुख गराउन प्राथमिकता दिइने उल्लेख छ ।
खेलक्षेत्रलाई प्रवद्र्धन गर्दै खेलाडीको मनोबल बढाउन “खेली मधेश, जीती मधेश” नारालाई आत्मसात गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
“चुरे जोगाउ, मधेश बचाउ”, “मुख्यमन्त्री हरियाली प्रवद्र्धन अभियान, “हरित शहर, स्वच्छ शहर” नाराहरुलाई आत्मसात गर्दै थप प्रभावकारिताका साथ अगाडि बढाईनेछ ।
मधेश प्रदेशमा बाल श्रमको अन्त्य तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न, प्रदेशभरिका १३६ वटै स्थानीय तहसँग समन्वय गरी “बाल श्रममुक्त मधेश” अभियान सञ्चालन गरिने लगायतको नीति तथा कार्यक्रम सरकारले ल्याएको छ ।


