एसपि रिपोर्टर
सप्तरी , जेठ २३ : बाढी पहिरोबाट सर्वसाधारणलाई उद्दार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोसी नदीमा डुबेर बिहीबार बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवान मध्ये एकको शुक्रवार शव फेला परेको छ ।
वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दे गर्दा गोताखोर सहित सप्तकोसीमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएकोमा १५ घण्टापछि राजवंशीको शव फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी छिन्नमस्ता महोत्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरी, सशस्त्र प्रहरी बल पकली सुनसरी र विपद् तालिम केन्द्र कुलिंगटारको संयुक्त टोलीले १५ घण्टापछि सशस्त्र प्रहरी जवान राजवंशीको शव फेला शुक्रवार बिहान ८ बजे पारेको हो । भने सुरज साउदको अवस्था अझै अज्ञात छ ।७५ जनाको उद्धार टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले जानकारी दिनुभयो ।मधेस प्रदेश सरकार गृह, कानुन तथा सञ्चार मन्त्रालयको योजनामा जेठ २४ गते शनिवार मनसुन विपद् प्रतिकार्य ‘सिमुलेशन’ अभ्यास गर्ने कार्यक्रम तय गरिएको थियो । त्यसैको पूर्व तयारी स्वरूप सप्तकोसीमा अभ्यास गर्न गएका सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बिहीबार गोताखोर सहित साँझ ५ बजे बेपत्ता भएका थिए ।
कर्तव्य पालन गर्दै ज्यान गुमाउन पुगेका सशस्त्र प्रहरी जवानका परिवारजनलाई सोही अनुसारको सुविधा प्रदान गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।


