एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राम्रा भब्य भवन जस्तै मैथिली विकास र उन्नयनमा पनि राम्रा काम गरेर भवनलाई सार्थक बनाउन मैथिली विकास कोषलाई आग्रह गरेका छन् ।

मधेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयको करौडौंको सहयोगमा बनेको कोषको भव्य मैथिली भवनको शुक्रवार एक समारोहका बिच समुदघाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यो भवन केवल भौतीक पुर्वाधारमा मात्र सिमिति नराखेर मैथिली लोक परमपराको संरक्षण स्थल, नयाँ पुस्ताका लागि ज्ञान शिप र कलाको केन्द्रका रुपमा अगाडि बढाउदै साहित्यीक गोष्ठी, सांस्कृतिक अभ्यास, भाषा अनुसन्धान र समाजिक संवादहरु गरेर सार्थक गर्नुपर्ने बताएका छन् ।

मैथिली भाषा संविधानमा दर्ज राष्ट्रिय भाषा रहेकाले यस्को विकास र संरक्षणमा यस्ता संस्थाहरुले बढि जोड दिनुपर्ने उनको तर्क थियो । सभापति देउवाले आफुले मधेश प्रदेशको नामांकरण जनक र जानकी प्रदेश गर्दा उत्तम हुने भने पक्षमा स्वयम रहेको भन्दै राजर्षि राजा जनक समान्य राजा नरहेको ध्यानाकर्षण गराए । सिंगापुर, मलेशिया, कम्बोडिया, थाईल्याण्ड सहितका देशहरुको नाम लिदै उनले त्यस देशहरुमा पनि राजा जनकको अझै प्रभाव रहेको बताए ।

राजर्षि राजा जनक, उनकी सुपुत्री लक्ष्मी स्वरुपा जानकी र उनका ज्वाँइ भगवान रामको विवाह स्थलका रुपमा रहेको पवित्र जनकपुरधामको देउवाले मुक्तकण्ठले प्रशंसा गरेका छन् । राजनीतिका कुनै पनि शब्द नबालेका सभापति देउवा उपस्थित सो समारोहमा भवन निर्माणमा सहयोग गरेका मधेश सरकारका भौतीक पुर्वाधार मन्त्रीहरु, मधेशका मुख्यमन्त्री सहितकालाई सम्मान गरिएको थियो ।

परम्परागत मैथिली कला, संस्कृती र परम्परा झल्किने खाजा देखि स्वागतका सरसमानहरु सहित आयोजित कार्यक्रममा कोषका अध्यक्ष जिवनाथ चौधरी, नेपाली कांग्रेस, नेकपा एमाले सहित विभिन्न राजनितिक दलका नेताहरुको समेत उपस्थिती थियो ।