एसपि रिपोर्टर
काठमाणडौँ, जेठ २३ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् ।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सिपवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका हुन् ।राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालय तह देखिनै बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रूपमा उभिन सक्नेगरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए । उनले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताए ।सो क्रममा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्व विद्यार्थी एवम् विद्यालयमा योगदान पुर्याउनेहरूलाई सम्मान गरेका थिए ।


