एसपि रिपोर्टर
सप्तरी , जेठ २२ : मिलेमतोमा सवारी लिलाम भएको आरोप लागिरहँदा आफ्नो गाडीको ट्रलीमा मोटरसाइकल लुकाएर लगेका राजविराज भन्सार कार्यालयका प्रमुखमाथि छानबिन सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले पत्राचार गर्दै भन्सार प्रमुख सत्यनारायण सिंहसँग लिखित जवाफ र लिलाम प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात माग गरेको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले लिखित जवाफ र लिलाम प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात माग गरिएको बताए । ‘सामाजिक सञ्जाल र सामाचारमा ती विषय देखिएसँगै हामीले मंगलबार नै पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘कानुनअनुसार सवारीसाधन लिलाम भएको छ/छैन भन्ने विषय छानबिनपछि स्पष्ट हुन्छ ।’गत शुक्रबार दिउँसो घर (धनुषा) तर्फ गइरहेका भन्सार प्रमुख सिंहले बा २ झ १३४३ नम्बरको गाडीको ट्रलीमा नम्बर उल्लेख नभएको ‘हिरोको ग्ल्यामर’ मोटरसाइकल लुकाएर लगेका थिए ।मोटरसाइकल र पोको पारिएका केही सामान सो गाडीमा लोड हुनेदेखि घरतर्फ निस्किँदासम्मको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भन्सारमा महिनायता दुई चरणमा गरी ७५ वटा मोटरसाइकल, ५ वटा ट्याक्टर, ६ वटा अटो र १ सय २८ वटा अन्य सवारीसाधन लिलाम गरिएको छ । सभार कान्तिपुर


