एसपि रिपोर्टर
काठमाणडौं, जेठ २१ : पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ । आक्रमणमा परेर पाँच विद्यार्थी घाइते भएका छन् ।
बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा छन् ।उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।उक्त नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो । पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


