एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २१ : मातृ पार्टी नेकपा (एमाले) ले ३२ वर्षे उमेरहद लगाउन परिपत्र गरेसँगै अनेरास्ववियुमा आकांक्षीको लर्को लागेको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू हुँदैछ ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा. सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन् । त्यसो त ३२ वर्षमुनिका र नियमित विद्यार्थीमात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान लागू हुने भएपछि केन्द्रीय सदस्यहरूले समेत अध्यक्षको आकांक्षा देखाउन थालेका छन् । त्यसो हुँदा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने आंकलन गरिएको छ ।
एता मधेशकी अञ्जना पनि सोहि उमेर हदका कारण अध्यक्षको दौडमा छिन् । एमालेले मधेश प्रदेशको नाम नारीलाई सम्मान हेतु जानकी प्रदेश प्रस्ताव गरेको थियो । नाम पारित हुन नसकेपनि त्यसपछि भएको निर्वाचनमा एमाले मधेशमा पहिलो पार्टीको रुपमा मात्र उदाएनन भर्खरै सम्पन्न स्ववियूका निर्वाचनमा पनि मधेशमा एमालेको अनेरास्ववियु नै पहिलो भयो ।
त्यस चुनावी अभियानकी कमान्डर समेत रहेकी अनेरास्ववियुकी केन्द्रिय सचिव तथा मधेश ईन्चार्ज अञ्जनाको मधेशको मौसम र राजनीति प्रतिकुलताका बिच उनले गरेको काम देखेर पार्टी अध्यक्ष केपि शर्मा ओली खुसी छन् । अनेरास्ववियुको नेतृत्वमा पहिलो पटक मधेश र त्यसमा पनि मधेशकी महिला आए एमालेका लागि थप सुखद हुने कुरा एमाले नेताहरुको बुझाईमा छ ।
अनेरास्ववियुमा यसअघि रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल अध्यक्ष भइसकेका छन् । एमालेको ‘नर्सरी’ मानिएको अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जेठ २८ गतेसम्म अधिवेशन चल्नेछ । अहिले तिनैमध्येबाट अध्यक्ष बनाउने चर्चा चलिरहेको छ । सचिव अञ्जना शिवाकोटीले पनि अनेरास्ववियुको चौथो महिला अध्यक्ष बनेर इतिहास रच्ने अभियानमा आफू रहेको बताइन् । महिलालाई सम्मानजनक अवसर दिदै राष्ट्रपति सम्म बनाउने एमाले त्यसकै फलस्वरुप देशकै लोकप्रिय पार्टी बनिरहेको उनको दावी छ ।
एक त पहाड मुलकी नेपाली भाषी त्यसमा पनि मधेशमा हुने आफनै दल भित्रको खिचातानीका बिच पनि अञ्जना कुशलता पुर्वक विद्यार्थी अभियान र आन्दोलनमा सक्रिय छिन् । मधेस प्रदेश इन्चार्जसमेत रहेकी उनी तेक्वान्डोको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । काठमाण्डौंको मिडियाहरुले छाप्ने तस्वीरहरुमा पनि अञ्जनालाई पहिलो प्राथमिकतामै राख्ने गरेको पाइएको छ ।
अनेरास्ववियुलाई सबै तह र तप्का विद्यार्थीहरूको अगुवा संगठन बनाउनुपर्ने उनको बुझाइ छ । एमालेको परिवर्तित नीतिअनुसार जनसंगठनको केन्द्रीय कमिटीमा दुई तहको मात्रै संरचना रहनेछन् । पदाधिकारीको संख्या ९ मात्रै रहनेछ । सचिवालय र केन्द्रीय कमिटी मात्रै हुनेछ भने केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ ।
