एसपि रिपोर्टर
जनकपुरधाम ,जेठ २० :
मधेश प्रदेशमा शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढ गर्न चिनियाँ संस्थाको सहयोगमा सञ्चालन गरिएका दुई महत्वपूर्ण परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरिएका छन्।

चीन ग्रामीण विकास प्रतिष्ठान (CFPA) ले जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोगमा र ग्लोबल पिस फाउन्डेसन (GPF) को साझेदारीमा “भविष्य उज्यालो बनाउने” शिक्षा परियोजना र “आरामदायी सुत्केरी अभियान” नामक स्वास्थ्य परियोजना हस्तान्तरण गरेको हो।शिक्षा परियोजनाअन्तर्गत दुईवटा सामुदायिक विद्यालयलाई डेस्क-बेञ्च, स्मार्ट बोर्ड, ह्वाइटबोर्ड, स्टेशनरी सामग्री र ६०२ सेट विद्यार्थी पोशाक वितरण गरिएको छ। स्वास्थ्य परियोजनाअन्तर्गत मधेश प्रादेशिक अस्पतालको सुत्केरी कक्षमा वातानुकूलन प्रणाली (AC) जडान गरिँदैछ, जसले आमाहरूलाई सुरक्षित र सुविधा सम्पन्न सुत्केरी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।शिक्षा परियोजनाको हस्तान्तरण कार्यक्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने स्वास्थ्य परियोजनाको उद्घाटन मधेश प्रदेशसभाका सभामुख माननीय रामचन्द्र मण्डलले गर्नुभयो। कार्यक्रममा चिनियाँ दूतावासका व्यापार परामर्शदाता सिए यु, CFPA नेपालकी निर्देशक सु जोउ, मधेश प्रदेशकी शिक्षा मन्त्री रानी तिवारी, स्वास्थ्य मन्त्री सत्रुधन सिंह, मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्त, योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, प्रदेश सांसदहरू, जनकपुरधामका नगर प्रमुख तथा विभिन्न स्थानीय र प्रादेशिक अधिकारीहरूको उपस्थिति थियो।परियोजनाका प्रबन्धकहरू शिवाङ्ग दत्त, सन्ध्या बज्राचार्य र जिबेश गुरुङ रहेका छन्।CFPA नेपाल कार्यालयकी निर्देशक सु जोउ झीच्याङले कार्यक्रममा स्थानीय सरकार र समुदायले देखाएको विश्वासप्रति आभार प्रकट गर्दै भनिन्, “यस्ता परियोजनाहरूले नेपालका ग्रामीण क्षेत्रहरूमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।” उनले मधेशप्रति चिनियाँ जनताको विशेष संवेदना रहेको उल्लेख गर्दै यस्ता सहयोगले नेपाल–चीन मित्रतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्।सन् २०१६ देखि २०२५ सम्म CFPA ले ३० हजारभन्दा बढी विद्यार्थीलाई “लभ प्याकेज” र “वार्म प्याकेज” वितरण गरिसकेको छ। २०२४ मा GPF र CFPA को सहकार्यमा २५ विद्यालयका १८,००० विद्यार्थी र ९,००० महामारी प्रभावित परिवारलाई जीविकोपार्जन सहयोग प्रदान गरिएको थियो। साथै, २०१८ को चक्रवात, २०२४ को आगलागी र कोभिड महामारीका बेला आपतकालीन राहत, आइसोलेसन केन्द्र, सरसफाइ तथा अक्सिजन स्टेसन निर्माणमा पनि चीनले महत्वपूर्ण सहयोग पुर्‍याएको थियो।नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजित यो कार्यक्रम दुई देशबीचको मित्रता र सहकार्यको प्रतीकको रूपमा स्मरणीय बनेको सहभागी वक्ताहरूले बताएका छन्। उनीहरूले आगामी दिनमा अझ दीर्घकालीन र प्रभावकारी सहकार्यको अपेक्षा पनि व्यक्त गरे।