एसपि रिपोर्टर
पर्सा , जेठ २० : नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकले दुवै मुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सोमबार वीरगन्जमा सम्पन्न नेपाली र भारतीय सुरक्षा अधिकारीको सिमाना जिल्ला समन्वय समितिको बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् ।
बैठकमा दुवै मुलुकबीच अन्तरदेशीय अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि एकापसमा सूचना आदानप्रदान गर्ने प्रतिबद्धता अधिकारीहरुले व्यक्त गरेका छन् ।बैठकमा सीमावर्ती भारतको विहारमा हुन लागिरहेको आसन्न विधानसभाको निर्वाचनको शान्ति सुरक्षाको विषयमा भारतीय पक्षले आफ्नो अपेक्षा समेत राखेको थियो । त्यसमा नेपाली पक्षले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।बैठकमा कोभिडबाट हुन सक्ने सम्भावित जोखिम र दुवै मुलुकबीच अपनाउनुपर्ने सतर्कताका विषयमा पनि छलफल भएको थियो । नक्कली मुद्राको अपचलनको विषयमा पनि दुवै पक्षबीच सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणका विषयमा पनि छलफल भएको थियो ।बैठकमा भन्सार, वन लगायतका दुवै मुलुकका प्रतिनिधिबीच सीमा क्षेत्रमा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र विपद्जन्य गतिविधिमा दुवै पक्षबीच मानवतावादी कार्यमार्फत मानवीय जनधनको जोगाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा सिर्सिया नदी प्रदूषण, अवैध व्यापार नियन्त्रण, मानव बेचबिखन, विपद्मा उद्धार र सहयोग, नक्कली मुद्राको अपचलन लगायतका विषयमा छलफल भएको थियो ।


