एसपि रिपोर्टर
जनकपुरधाम , जेठ २० : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि यात्रामा छिमेकी राष्ट्रहरू—भारत र चीन—को योगदान महत्वपूर्ण रहेको बताएका छन्।
जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपालले दुवै छिमेकी मुलुकहरूसँग सन्तुलित र मित्रवत् सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।उनले भने, “भारत र चीन विश्वकै ठूलो जनसंख्या भएका मुलुकहरू हुन्। नेपाल दुवैको बीचमा रहनु आफैंमा एक अवसर हो। उनीहरू समृद्धिको बाटोमा छन्, हामीले पनि उनीहरूबाट पाठ सिक्नुपर्छ। सहयोगलाई सम्मानपूर्वक स्वीकार गर्दै देशलाई समृद्धितर्फ डोर्याउन सकिन्छ।”कार्यक्रममा पूर्व मन्त्री जुलीकुमारी महतोले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरिन्। उनले भनिन्, “शिक्षा क्षेत्रको सुधारका लागि हामीले नै पहलकदमी लिनुपर्छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार हाम्रो सामूहिक दायित्व हो।”कार्यक्रममा चीनको दूतावासले सरस्वती माध्यमिक विद्यालयलाई सहयोगस्वरूप डेस्क, बेञ्च, ह्वाइट बोर्ड, स्मार्ट बोर्ड लगायतका आधुनिक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको थियो।विद्यालयका प्रधानाध्यापकले सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।





