एसपि रिपोर्टर
जनकपुरधाम , जेठ २० : थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु संघसंस्थाहरूको संयुक्त आयोजनामा जनकपुरधाममा दुईदिने थारु अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनले थारु समुदायका साझा सरोकार र अधिकारका विषयमा केन्द्रित गर्दै ७ बुँदे घोषणापत्र समेत जारी गरेको छ।
जेठ १९ र २० गतेसम्म सञ्चालन भएको उक्त सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, संगठनात्मक सिद्धान्त तथा हाल थारु समुदायले भोगिरहेका साझा समस्याहरू र तिनको समाधानका उपायहरूबारे गहिरो छलफल भएको थियो।बन्द सत्रको निर्णयअनुसार जारी घोषणापत्रमा आतंकवादको कडा भर्त्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, थारु भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी लविङ्ग, साथै सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको आवश्यकतालाई स्पष्ट रूपमा उठाइएको छ।त्यसैगरी, सम्मेलनले थारु अन्तर्राष्ट्रिय महासंघको नेपाल च्याप्टर गठन गर्ने निर्णयसमेत गरेको छ, जसका संयोजकमा श्री श्रवण थारुलाई चयन गरिएको छ। महासभाले भारत र नेपालका च्याप्टरहरू घोषणापत्र कार्यान्वयनमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
सम्मेलनले अन्य देशहरूमा पनि संगठन विस्तार गर्दै थारु समुदायका अधिकार, पहिचान र स्वाभिमानको संरक्षणमा समन्वयकारी भूमिका खेल्ने स्पष्ट सन्देश दिएको छ।





