एसपि रिपोर्टर
काठमाणडौँ , जेठ १९ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
उहाँ जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएको थियो । उहाँसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी लगायत रहनुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमुलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभयो । मन्त्री भण्डारीका अनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा चीन–नेपालबिचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृतिक सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताउनुभयो । उहाँले चीन–नेपालबिचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो जानकारी दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “सम्माननीय पूर्वराष्ट्रपतिज्युले सभामा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समुदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो । त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यु लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ताहरू भयो ।” उहाँले नेपाल–चीनबिचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबिचका साझा मान्यताहरू, समझदारी र सम्झौताहरू समेत पुर्नताजगी गर्ने भ्रमणका रूपमा रहेकाे बताउनुभयाे । “यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कुटनीतिहरूका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त भएको छ,” उहाँले भन्नुभयाे ।पूर्वराष्ट्रपति भण्डारीले चीनमा पाएको उच्चस्तरको सम्मानपछि नेपालमा वाम शक्ति एकीकरण, नेतृत्व स्वीकार्यतालाई चीनले सकारात्मक रूपमा लिएको विश्लेषणहरू हुन थालेका छन् ।


