एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १६ :
१८औँ गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ तीनदिने विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको पहिलो दिन, जेठ १४ गते, जनकपुरधामस्थित मधेश भवन परिसरमा सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। दोस्रो दिन, जेठ १५ गते, प्रदेशभित्रका प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान तथा अभिनन्दन गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रप्रतिको सम्मान व्यक्त गरिएको थियो।

तीनदिने कार्यक्रमको अन्तिम दिन, जेठ १६ गते, ऐतिहासिक जानकी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसपछि जनकपुरधामस्थित मानव सेवा आश्रममा सहारा विहीन, अपाङ्ग, अशक्त तथा मानसिक रोगीहरूमाझ भोजन वितरण गरिएको थियो।
उक्त अवसरमा प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी स्वयं सहभागी थिए। उनले भने, “विद्यार्थीकालदेखि नै म समाज परिवर्तनका लागि विभिन्न अभियानमा सक्रिय छु। सप्तकोसी नगरपालिकामा मानव सेवा आश्रम निर्माणका लागि मैले आफ्नै पैत्रिक सम्पत्तिबाट दुई कट्ठा जग्गा दान गरेको छु। म मानव सेवाको भावनासँग गहिरो रुपमा जोडिएको छु।”

मन्त्रालयका अनुसार यस विशेष कार्यक्रममार्फत नागरिक सर्वोच्चता, सामाजिक उत्तरदायित्व र मानवीय सेवाका मूल्य–मान्यता उजागर गरिएको छ। सेवा, सम्मान र सकारात्मक सोचको सन्देश समाजमा फैलिएको विश्वास समेत व्यक्त गरिएको छ।


