एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १४ : 
साना पाँच दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् । बिहीबार जनकपुरधाममा समारोहको आयोजना गरी यी दलले गठबन्धन घोषणा गरेका हुन् । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी छन् ।
घोषणा समारोहमा पूर्वगृहराज्यमन्त्रीसमेत रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले मुलुकमा फेरि पनि एकल शासकको अभिलाषा राख्नेहरू सल्बलाएको भन्दै उनीहरूका इच्छा कुनै हालतमा पूरा नहुने बताउनुभयो । पछिल्लो समय राजावादीका नाममा प्रतिगामी शक्तिहरू देखिन थालेको भन्दै उहाँले जनताले प्राप्त गरेका उपलब्धि रक्षाका लागि कुनै हदसम्म जान सक्ने पनि चेतावनी दिनुभयो । अध्यक्ष अन्सारीले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाउनुभयो ।
यी नेताहरू शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको उहाँको आरोप छ । अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गर्नुभयो ।
समारोहमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गणतन्त्र आएको लामो समय बित्दासमेत शोषित पीडित समुदायले वास्तविक गणतन्त्र महसुस गर्न नसकेकाले गणतन्त्र दिवसकै दिन पारेर गठबन्धन घोषणा गरेको बताउनुभयो । यो गठबन्धन इमान्दार नेताहरूको रहेको पनि उहाँले दाबी गर्नुभयो । ठूला मधेशी दलहरूले मधेशी जनतालाई धोका दिँदै आएकाले आफूहरू उनीहरूको गठबन्धनमा नगएर छुट्टै गठबन्धन बनाएको उहाँको भनाइ छ । घोषणा समारोहमा बहुजन एकता पार्टीका अध्यक्ष रञ्जन, नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा सांसद् बिमला अन्सारी, नेपाल सद्भावना पार्टीकी वरिष्ठ नेतृ तथा पूर्वमन्त्री सरिता गिरी, इतिहासिक जनता पार्टीका अध्यक्ष ठाकुर, नेपाल जनजागृति पार्टीका निषादलगायतले उत्पीडित समुदायहरू एकजुट भएर आफ्नो अधिकार लागि सघर्षमा उत्रिनुपर्ने बताएका थिए ।