एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
जन जनमा गणतन्त्र दिवसको सन्देश पुर्याउने अभिप्रायका साथ मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री एक्लै लागि परेका छन् । बुधवार विहान सरसफाई कार्यक्रम राखिएपनि मन्त्री राजकुमार लेखी वाहेक मधेश सरकारका कोहि पनि मन्त्री सहभागि भएनन् ।

गृह मन्त्रालय परिसरमा गृहमन्त्री राजकुमार लेखीको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा मुख्यमन्त्री सहित सबै मन्त्री आमन्त्रित थिए तर कोहि उपस्थित देखिएन । मन्त्रालयका गृह सचिव बिमल प्रसाद बराल, प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, कर्मचारीहरु , नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा लगायतको उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आयोजना हुने कार्यक्रमहरुको लागि मुल आयोजन समितिको स्थापना गरिएको जस्का संयोजक स्वयम मुख्यमन्त्री नै छन् । तर मधेश भवनमै आयोजित सफाई कार्यक्रममा उनको अनुपस्थिति सबैका लागि जिज्ञासाको विषय थियो । आज दिवसका दिन गृह मन्त्रालयले दिवसको अवसर पारेर मधेश प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको औपचारिक रुपमा अभिनन्दन गर्ने कार्यक्रम सहित एक समारोहको समेत आयोजना गरेको छ ।

पत्रकारितामार्फत निरङ्कुश शासनविरुद्ध आवाज उठाउने तथा लोकतन्त्रको जग मजबुत बनाउन योगदान दिने सञ्चारकर्मीहरूको सम्मानमा समर्पित सम्भवत मधेश सरकारको यो पहिलो कार्यक्रम हुनेछ । आन्दोलन र मधेशका मिडियाहरुको समर्थनमा उदाएका र स्थापित दलहरुको मधेश सरकारका बाहुल्यता छ तर पनि मिडिया धरासयी हुदै गएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यले उनीहरूको योगदानलाई औपचारिक रुपमा सम्मान गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । गणतन्त्र दिवसले समानता, स्वतन्त्रता र उत्तरदायित्वको भावना फैलाउने विश्वासका साथ कार्यक्रम गर्न लागिएको मन्त्रालयले जनाएको छ ।