एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १० : नेपाली कांग्रेसबाट हाल सम्म ११ जना गृहमन्त्री भएकामा ६ जना विवादित मात्र बनेनन ५ जना हिरासतमै बस्नु प¥यो एकजना विजय कुमार गच्छदार हिरासत बाहिरबाटै मुद्दा लडिरहेका छन् । छ जनामा ३ जना कारागारनै चलान भए ।
बहुदल पश्चात २०४६ चैत २४ गते नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारमा कांग्रेसबाट पहिलो पटक गृहमन्त्री बनेका योग प्रसाद उपाध्याय देखि वर्तमान गृहमन्त्री रमेश लेखक सम्म आइपुग्दा कांग्रेसबाट कुल ११ जना गृहमन्त्री बनेका छन् ।
जस्मा शेर बहादुर देउवा, खुम बहादुर खडका, गोविन्द राज जोशी, पुर्ण बहादुर खडका, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, विजय कुमार गच्छदार, विमलेन्द्र निधी , बाल कृष्ण खाँड र रमेश लेखक हुन । यि ११ मध्ये छ जना आरोपित र विवादित बने भने पाँचजना सफल भए ।
पाँच गृह मन्त्री जो विवादित बनेनन
सफल भएकामा देउवा पाँच पटक प्रधानमन्त्री नै भइसकेका छन भने पौडेल हाल राष्ट्रपति हुन । ११ मा एक मात्र मधेशी मुलका गृहममन्त्री निधी पनि सफल गृहमन्त्रीमा पर्दछन् । योग प्रसाद उपाध्याय र पुर्ण बहादुर खडका पनि कुनै विवादमा तानिएनन ।
हाल सम्म काग्रेसबाट गृहमन्त्री बनेका एकमात्र मधेशी प्रतिनीधि विमलेन्द्र निधी र्निविवाद र सफल गृहमन्त्री सावित भए । आईजिपी नियुक्तीमा देखाएको स्पष्ट अडान र परिआएका बेला पदबाट राजिनामा समेत दिन पछि नहटेको चर्चा कमाएका निधी राजिनामा नदिन दबाब परेपछि पुनः पदमा फर्किएका थिए । उनको कार्यकालमा मधेशको सप्तरी मलेठमा गोली चलेर मान्छे मारियो तर निधीले स्पष्ट रुपमा आफुले गोली चलाउने आदेश नदिएको दावी गरे । मधेशी मुलका भएकाले उनलाई विवादित बनाउन यस्तो गरिएको चर्चा पनि चलेकै हो । उनले कार्यसम्पादनमा पार्टी नेतृत्व सामु पनि घुडाँ नटेकेको भन्दै प्रशंसा बटुले ।
यस्ले पनि गृहमन्त्री बन्दा पार्टीबाटै पनि धेरै षडयन्त्र खेप्नु पर्दछ भन्ने सन्देश प्रवाह हुने गरेको छ । हालका गृहमन्त्री रमेश लेखकले पनि आफु विरुद्व पार्टी भित्रैबाट पनि षडयन्त्र भइरहेको संकेत गरेका छन भने उनको राजिनामा आउनुपर्ने आवाज बाक्लिदै गइरहेको छ । पार्टीकै प्रभावशाली नेता तथा सभापतिका दाबेदार शेखर कोईरालाले लेखको राजिनामा आउनुपर्ने मांग गरिसकेका छन् ।
विवादित र आरोपित ६ गृहमन्त्री
दुई पटक गृहमन्त्री बनेका खुम बहादुर खडका अकुत सम्पती आर्जन गरेको आरोपमा दोषी ठहर भई जेल चलान भए भने गोविन्द राज जोशी पनि सोहि आरोपमा स्र्वोच्च अदालतबाट दोषी ठहर हुदै जेल भुक्तानी गर्नु परेको थियो । कृष्ण प्रसाद सिटौला सुडानमा वख्तरबन्द गाडी तथा बन्दोबस्ती समान खरिद गर्दा २९ करोड घोटाला भएको आरोपमा विवादित बने, नक्कली भुटानी शरनार्थी प्रकरणमा बाल कृष्ण खाँड आरोपित बन्दै सात महिना हिरासतमा बसे मुद्दा अझै जारी छ ।
कांग्रेसबाट गृहमन्त्री बनेको थारु प्रतिनिधी विजय कुमार गच्छदार ललिता निवास प्रकरणमा आरोपित बने र मुद्दा दायर भएपछि फरार भए । पार्टी सभापति देउवा पाँचौ पटक प्रधामन्त्री बनेपछि अदालतमा उपस्थित भएर वाहिर बाटै मुद्दा लडेका गच्छदारको मुद्दा अझै विचाराधिन छ । भिजिट भिसाको सेटिङ्गमा सचिवालयको नाम जोडिएपछि वर्तमान गृहमन्त्री लेखक विवादमा परेका छन् । यद्यपि उनले आफनो कुनै संलग्नता नरहेको र ठहरे राजनीतिनै परित्याग गर्ने घोषणा गरेका छन् ।





