एसपि रिपोर्टर
रौतहट , जेठ ९ : ट्राफिक प्रहरी कार्यालय गौरको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो ।
ट्राफिक प्रहरीले हाल आएर गौर नगरपालिका–३ कार्यालयको भुइँ तल्लामा बसेर सेवा दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताउनुभयो । कार्यालय सञ्चालन र वास बस्नका लागि गौर नगरपालिकाले एक हप्तादेखि वडा कार्यालय रहेको घरको भुइँ तल्लाको कोठा उपलब्ध गराएको जानकारी उहाँले दिनुभयो ।साविक डिभिजन सहकारी कार्यालयको भवनमा हाल गौर नगरपालिकाले–३ कार्यालय सञ्चालन गरी रहेको छ । बाहिरी आवरण रङरोगन गरेर चिटिक्क परेको भए पनि भित्रि भाग जीर्ण रहेको छ ।ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियम विपरीत सञ्चालन भएका सवारीसाधन, चोरीका सवारीसाधन समात्दा राख्ने ठाउँको समेत अभाव रहेको ट्राफिक प्रहरी कार्यालय गौरका प्रहरी सहायक निरीक्षक दिपेन्द्र झाको भनाइ छ ।भवन नहुँदा कार्यसम्पादनमा समेत समस्या भएको छ, कार्यालय भवन र बस्ने अभाव २०६३ सालदेखि ट्राफिक प्रहरी कार्यालय गौरले झेल्दै आइरहेको प्रहरी सहायक निरीक्षक झाले भन्नुभयो ।गौरमा ट्राफिक प्रहरी कार्यालय स्थापना भएदेखि तीन ठाउँमा कार्यालय सार्नु परेको प्रहरी सहायक निरीक्षक झाले बताउनुभयो ।जिल्ला हुलाक कार्यालयको भवनबाट सेवा दिइ रहेको कार्यालय अहिले आएर वडा कार्यालयमा सरेको छ । सामान्य वर्षा हुँदा समेत कोठामा पानी पस्ने ट्राफिक प्रहरीको पीडा यथावत रहेको छ । गौरमा नौ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।गौर नगरपालिकाले विगतका दिनमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन हुन् नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अधिकारिले बताउनुभयो ।भवन निर्माणको लागि आवश्यक पहल गरिरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।





