एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २७ : भारत र पाकिस्तानबीच बढ्दो तनावको प्रभाव नेपाल–भारत सीमामा समेत देखिएको छ। प्रहरी प्रधान कार्यालयले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ।
उक्त निर्देशनअनुसार भारतसँग जोडिएको धनुषा जिल्लासहितका सीमावर्ती क्षेत्रमा सुरक्षा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो।उहाँका अनुसार सीमामा आवतजावत गर्ने यात्रुको परिचयपत्र प्रमाणीकरण गरिनुका साथै आवागमनको प्रयोजन र सवारी साधनको विवरण समेत संकलन थालिएको छ।
भारत–पाकिस्तानबीच उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त निर्देशनको पालना गरिरहेको उहाँले बताउनुभयो।सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अब यात्रुहरूको उद्देश्य र विवरण रेकर्ड गरेर मात्र आवतजावत गर्न दिइने व्यवस्था गरिएको छ।यसअघि सीमावर्ती भारतीय बजार र स्थलमार्ग प्रयोग गरेर दुवै देशका नागरिकहरू बिना रोकावट आवतजावत गर्दै आएका थिए।


