एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : नेपाली कांग्रेसका पुर्व उपसभापति प्रतिनिधीसभा सदस्य विमलेन्द्र निधीले प्राप्त उपलब्धी र व्यवस्था बचाउन नेपाली कांग्रेस धेरै थोक सह्न परिरहेको बताएका छन् ।

२०५९ सालमा माओवादीबाट हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ साविकको अत्रौली गाविसका उपाध्यक्ष कांग्रेसका निडर नेता सुखदेव महतोको सोहि वडामा नवनिर्मित शालिक अनावरण गर्दै निधीले भने, ‘सहि गलत छोडेर २०८४ को तयारीमा लाग्नोस, कांग्रेस अहिले धेरै थोक सह्न गरिरहेको छ ।’

उनले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम एमालेमुखी भएको कुरा कांग्रेसका मन्त्री, नेता सबैले बुझिरहेको भएपनि २०८४ सम्म गठबन्धन अगाडि बढाउनुको विकल्प नरहेको बताए । एमालेले गठबन्धनको समान्य शिष्टाचार समेत पालना नगरेको बताउदै उनले कांग्रेस प्राप्त उपलब्धी र व्यवस्था बचाउन कमप्रमाइज गरिरहेको स्पष्ट पारे ।

जनकपुरधाममा स्व. रामनारायण मिश्र जस्ता नेताको विरोध, बजेटमा मनपरी यि सबै कारणहरु देखाउदै निधीले एमाले प्रतिद्वन्द्वी सरहनै व्यवहार गरिरहेको संकेत गर्दै २०८४ लक्ष्यका लागि केन्द्रित हुन नेता कार्यक्रतालाई आग्रह गरेका छन् । सो अवसरमा मधेशका उपसभापति पुर्वमन्त्री विरेन्द्र सिंहले हिंसा रोजेको र कांग्रेसीलाई मारेको पार्टी माओवादीको हालत बारे स्पष्ट गर्दै कांग्रेस जस्ता शान्तिपूर्ण धारमा राजनीति गर्ने पार्टी मात्र टिकाउ हुने बताए । उनले सर्लाही कांग्रेसलाई कमजोर बनाउन पार्टीकै केहि तत्व लागेको र वर्तमान मधेश सरकार कमिशनमा योजनाका चिठ्ठीहरु बेचेर मधेशलाई बदनाम गरेको बताए ।

नेता तथा पुर्व मन्त्री राम सरोज यादवले प्रदेशसभामा जान लाज लागिरहेको बताउदै नेकपा एमालेका मन्त्रीहरुको मनपरीर गलत रबैयाका सामने कांग्रेसको हालको मधेशको नेतृत्व लम्पसार र निरिह बनेको बताए । उनले एमालेका मन्त्रीहरु दिनदाहारै योजनाका पत्र कमिशनमा बेच्ने गरेको आधार, प्रमाण र समाचारहरु हुदा हुदै पनि कांग्रेस केहि गर्न नसकेको बताए ।

सो अवसरमा प्रदेश सांसद जंगीलाल राय सहितका सांसद, जिल्ला सभापतिहरु, जनप्रतिनीधिहरु सहितकाले शहिद महतोको योगदान, व्यक्तित्व, कांग्रेस प्रतिको लगनशिलता बारे धारणा राखेका थिए । नेपाली कांग्रेसका महतोको २०५९ सालमा माओवादी विद्रोहीहरुले घाँटी रेटेर निर्ममता पुर्वक हत्या गरिएको नेताहरुले बताए ।

निधी सर्लाहीमा प्रवेश गर्दा नेता कार्यक्रताहरु सवारीसाधनको लामो लस्कर सहित स्वागत गरेका थिए ।